दफा १५
निरीक्षण सम्बन्धी व्यवस्था

(१) उच्च अदालतको मुख्य न्यायाधीशले प्रत्येक वर्ष सम्बन्धित उच्च अदालत वा मातहतका जिल्ला अदालतका न्यायाधीशको काम कारवाहीको सम्बन्धमा निरीक्षण गरी न्याय परिषदमा प्रतिवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराका अतिरिक्त देहायका विवरण उल्लेख गर्नु पर्नेछ ः–

(क) सम्बन्धित न्यायाधीशलाई खटाइएको स्थानमा रहेको वार्षिक रुजु हाजिरीको विवरण,

(ख) सम्बन्धित अदालतमा रहेको मुद्दाको अनुपातमा वर्षभरिमा न्यायाधीशले गरेको फैसलाको विवरण,

(ग) सम्बन्धित न्यायाधीशले गरेको फैसला माथिल्लो अदालतबाट सदर वा बदर भएकोमा सोको विवरण,

(घ) अदालत व्यवस्थापन तथा सञ्चालन सम्बन्धी अन्य काम कारवाहीको विवरण ।

(३) न्याय परिषदले न्यायाधीशको मूल्याङ्कन वा निज उपर कारवाही गर्दा उपदफा (१) बमोजिमको प्रतिवेदनलाई आधार लिन सक्नेछ ।

(४) निरीक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।